Tuesday, September 29, 2026
Home समाचार निर्माण व्यवसायी मागः बोलपत्रमाथिको सिण्डिकेट अन्त्य हुनुपर्ने

निर्माण व्यवसायी मागः बोलपत्रमाथिको सिण्डिकेट अन्त्य हुनुपर्ने

393

माघ २२,
भक्तपुर । निर्माण व्यवसायीहरुले अब बन्ने नयाँ स्थिर सरकारसँग विकास र समृद्धीका लागि सहकार्य गर्न आग्रह गरेका छन् । उनीहरुले अहिलेको वर्तमान सरकारले निर्माण व्यवसायी महासंघले गरेका नितिगत निर्णय र प्रस्ताव सुनुवाई नगरेको गुनासो गरे । निर्माण व्यवसायी संघ भक्तपुरको १७ औं वार्षिक साधारण सभा कार्यक्रममा आइतबार महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण सम्पन्नको भुक्तानी नगरेको गुनासो गर्नुभयो । उहाँले ठुला र पहुँचवाला व्यवसायीको कुरा सुनेर सरकारले निर्णय गर्ने गरेको तर, महासंघले गरेका संस्थागत निर्णयहरुको वेवास्ता गर्ने गरेको बताउनुभयो । उहाँले अब बन्ने नयाँ सरकारसँग समन्वय र सहकार्य गर्न समेत आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायी दिनानुदिन असुरक्षित बन्दै गएको भन्दै सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा भारतले निर्माण सामाग्रीका कच्चा पदार्थमा गरेको मूल्य बृद्धि र सिण्डिकेटका कारण भएको मूल्य बृद्धिले आमउपभोक्ता मारमा परेको बताउँदै उहाँले मूल्य बृद्धि नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका महासचिव रामशरण देउजाले बोलपत्रमाथिको सिण्डिकेट अन्त्यका लागि विट क्यापासिटी लागु गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्माण सामाग्रीमा अस्वभाविक रुपमा भएको मूल्यबृद्धिले निर्माण व्यबसायीलाई काम गर्न समस्या परेको बताउँदै मूल्य बृद्धि नियन्त्रण नभए पुर्ननिर्माणलाई समेत प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार रमेश शर्मा र यक्षध्वज कार्कीले निर्माण व्यवसायीसंग चन्दा माग गर्ने, धम्क्याउने क्रम नरोकिएको बताउँदै व्यवसायीले सुरक्षाको प्रत्याभूति गर्ने अवस्था सिर्जना नभएको बताउनुभयो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सरकार र निजी क्षेत्रले सहकार्य गरे अगाडि बढ्न सकेमात्र आर्थिक सम्मृद्धी सम्भव रहेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले विकास र सम्मृद्धीका लागि सरकारले सरोकारवाला पक्षसँग नितिगत रुपमै योजना निर्माण गरेर जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा विगत २० वर्षदेखि निरन्तर रुपमा निर्माण व्यवसायमा लाग्ने डि. लालिगुराँस निर्माण प्रा.लि.का अध्यक्ष देवीकुमारी कोईराला राना, कोहिनुर एण्ड विल्डर्सका प्रो. राजु बखाद्यो, आर्के निर्माण सेवाका प्रो. रामकृष्ण त्वायनाबासु लगायत विभिन्न कम्पनीहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद शिल्पकारको निधन भएकाले परिवारलाई सहयोग स्वरुप मृतकका पुत्र बिमल शिल्पकारलाई १ लाख रुपैयाँ र संघका कार्यसमिति सदस्य जीवन केसीको निधन भएकाले परिवारलाई सहयोग स्वरुप मृतकका बुबा नातीकाजी केसीलाई ५० हजार रुपैया प्रदान गरेको छ ।
साधारण सभामा संघका अध्यक्ष निरञ्जन बजगाईले देश संघीयतामा प्रवेश गरिसकेको अबस्थामा कतिपय बजेट शिर्षक स्थानीय निकाय वा सरोकारवाला कार्यालय कुनबाट गराउने भन्ने अन्योल हुँदा सम्पन्न भएका निर्माण कार्यको भुक्तानीमा समस्या आएको बताउनुभयो । १ करोडसम्मको निर्माण कार्य उपभोक्ता समिति मार्फत गराउने राज्यको व्यबस्थाबाट साना निर्माण व्यवसायीलाई निकै मार परेको उहाँको भनाई थियो । कार्यक्रममा संघका महासचिव विजय देउजाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।