अब हरेक साता हनुमन्ते नदि सफा गरिने

349

फागुन १२,
भक्तपुर । वागमति नदिको सहायक नदिको रुपमा रहेको भक्तपुरको हनुमन्ते खोलाको सरसफाई अभियान सुरु हुने भएको छ ।
मध्यपुरथिमिको चाणक्य कलेजमा आज भएको प्रतिनिधीसभा सदस्य, स्थानीय तहका पदाधिकारी, सरोकारवाला निकाय र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बृहत भेलाले आगामी शनिवार अर्थात फागुन १९ गतेदेखि हरेक शनिवार नियमित रुपमा हनुमन्ते खोला सरसफाई गर्ने निर्णय गरेको हो ।
प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र वागमति सफाई अभियन्ताहरुको पहलमा भएको भेलाले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको संयोजकत्वमा हनुमन्ते खोला सफाई अभियान मूल कमिटी निर्माण गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मढिकर्मी उपसंयोजक रहेको उक्त कमिटीमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरु सदस्य रहने भएका छन् । साथै प्रत्येक वडाका वडाअध्यक्षहरु उपसमितिको संयोजक रहने र आ–आफ्नो वडामा उपसमिति गठन गर्दै अभियानमा सहभागिता जनाउने निर्णय भएको छ ।
भेलामा भक्तपुर नगरपालिकाको उपस्थिति नभएपनि भक्तपुर नगरपालिका भएर हनुमन्ते बग्ने भएकाले भक्तपुर नगरपालिकासंग अभियानका लागि समन्वय गर्ने निर्णय गरिएको छ ।
हुनमन्ते खोला अन्तर्गत चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा पर्ने ताथली जोड्ने पुल, ब्रम्हायणीदेखि भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका भएर बग्ने यो खोला ललितपुरको टीकाथली पुलसम्म सरसफाई हुने भएको छ । ललितपुरको सहभागिता गराउनका लागि महालक्ष्मी नगरपालिकाका प्रमुखसंग समन्वय गर्ने र स्थानीयलाई अभियानमा परिचालन गर्न स्थानीयबासी एवं चलचत्रि कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई जिम्मेवारी दिएको छ ।
आगामी शनिवार मध्यपुरथिमिको कौशल्टार र सूर्यविनायकको बालकोट जोड्ने पुलबाट उद्घाटन गरी सफाई अभियान सुरु गरिने भएको प्रतिनिधीसभा सदस्य महेश बस्नेतले बताए ।
हनुमन्ते सफाईका लागि भेलाका सहभागिहरुबाटै नगद तथा जिन्सी गरि रु. एक लाख संकलन भएको अभियन्ता रुद्र पौडेलले जानकारी दिएका छन् ।
संकलित रकम सफाईका लागि आवश्यक पर्ने सामाग्रीहरु डोको, पञ्जा, बुठ, माक्स लगायतका सामाग्री खरिदमा खर्च गरिने भएको छ ।