आज सातै प्रदेशका सांसदले सपथ लिने

332

माघ ७,
काठमाडौं । सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ ।
प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ ।
यी प्रक्रियाहरु पूरा गर्न र विशेष गरी मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि अझै केही साता लाग्ने छ ।

सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । गत १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० गरी कुल ५५० प्रदेश सांसदहरु निर्वाचित भएका थिए ।
सातवटै प्रदेश मुख्यालयमा फरक फरक समयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसरी हुँदैछ सपथ कार्यक्रम

प्रदेश १ को सपथ

विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुनेछ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलका अनुसार सोही स्थानमा नै प्रदेशसभाको पहिलो बैठक पनि बस्ने छ । प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित झापाका ७४ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश प्रमुख प्रा।डा।गोविन्द सुब्बाबाट सबैभन्दा पहिले सपथ लिनेछन् । त्यसपछि सरावगीले अन्य सांसदलाई सपथ गराउनेछन् ।

प्रदेश २ को सपथ ग्रहण समारोह

जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा हुनेछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार बिहान पदभार सम्हाल्नेछन् र त्यसलगत्तै उनले प्रदेश सांसदलाई शपथ गराउने कार्यक्रम छ ।

प्रदेश ३ मा

बिहान ११ बजे सपथ ग्रहणको कार्यक्रम बनाइएको छ । मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेश सांसदहरुको सपथ र पहिलो बैठक बस्ने छ । प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले जेष्ठ सदस्य ७२ वर्षीय डोरमणि पौडेललाई पहिले सपथ खुवाउने र त्यसपछि पौडेलले अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ४ को सपथ

ग्रहण कार्यक्रम पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा राखिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहणपछि सपथ ग्रहणको कार्यक्रम हुनेछ ।

प्रदेश ४ मा एमालेबाट नवलपरासीको बर्दघाट सुस्तापूर्व २ ‘ख’बाट निर्वाचित ६७ वर्षीय जनकलाल श्रेष्ठ ज्येष्ठ सदस्य छन् । जिल्ला प्रशासन कार्यालयको हलमा श्रेष्ठले प्रदेश प्रमुखबाट शपथग्रहण गरेलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा उनले बाँकी सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ५ को सपथ

ग्रहण कार्यक्रम बुटवलस्थित रूपन्देही व्यापार संघको सभाहलमा हुनेछ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले बिहान १० बजे प्रदेश प्रमुखको पदभार सम्हालेपछि सम्बन्धित प्रदेशका सांसदहरूलाई शपथ गराउने कार्यतालिका छ ।

प्रदेश ६ को सपथ

ग्रहण समारोह बिहान ११ बजेपछि जिल्ला समन्वय समिति सुर्खेतको हलमा राखिएको छ । त्यसअघि बिहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको कार्यालयमा पदभार ग्रहण गर्नेछन् । उनले एमाले समानुपातिक सांसद हिमबहादुर शाहीलाई सपथ खुवाएपछि शाहीले अन्य सदस्यहरुलाई सपथ खुवाउने छन् । दैलेखको चामुण्डा विन्द्रासैनी घर भएका शाही एमालेबाट समानुपातिक सांसद बनेका हुन् ।

प्रदेश ७ को सपथ

ग्रहण समारोह कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बिहान ११ बजेपछि राखिएको छ । त्यसअघि प्रदेश प्रमुख मोहनराज मल्लले पदभार सम्हाल्ने छन् । मल्लले पदभार सम्हालेपछि कांग्रेस समानुपातिकबाट सांसद बनेकी ७४ वर्षीया दिव्यश्वरी शाहलाई सपथ खुवाउने छन् । त्यसपछि शाहले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । –अनलाइन खबर