भूकम्पपीडित अनुदान सम्झौता सुरु

267

चैत २८, पर्वत ।
पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो । पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो । जिल्लामै सबैभन्दा बढी क्षति भएको मोदी गाउँपालिकाअन्तर्गतको वडा नं ६ साबिकको तिलाहार गाविसबाट वितरण अभियान सुरु गरिएको छ । पर्वतमा भूकम्पबाट कुल १२ हजार एक सय १९ घरमा क्षति पुगेको भए पनि पहिलो चरणमा लगत सङ्कलनमा समावेश भएका ४ हजार ३ सय ७३ पीडित परिवारलाई वितरण कार्य थालिएको हो । यो जिल्लाका ३८ गाविस र एक नगरपालिकाको तथ्याङ्क हो । वाँकी साबिकका आठ गाविसको प्रमाणीकरण हुन बाँकी रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ चिकित्सक योगेन्द्र रिजालले पीडितलाई सम्झौता गराएर अभियानको सम्झौता सुरुवात गरेका हुन् । पीडितसँग सम्झौता भइसकेपछि वैशाख १२ गतेभित्र नै पूर्ण क्षति भएका बैंक खातामा रकम पठाइसक्ने रिजालले जानकारी दिए । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले पीडितलाई बर्खायाम सुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने र तत्काल पुनर्निर्माणको काम सुरु गरिने बताए । कार्यक्रममा निमित्त प्रजिअ डिल्लीराम शर्माले राज्यले तोकेको मापदण्ड र यसअघि गरिएको लगत सङ्कलनमा परेकालाई तत्काल राहत दिन निरन्तर लागिपर्ने बताए । सो अवसरमा सम्झौताका लागि सहभागी पीडितले सरकारले दिने भनेको रु तीन लाख निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पु¥याउन माग गरेका थिए । उनीहरुले रु तीन लाखले मात्र आवश्यकता अनुसारको घर नबन्ने भन्दै असन्तुष्टि जनाएका थिए । कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे अन्यौल हुँदा राहत पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् । वैशाख १२ को भूकम्पबाट पर्वतका साबिकका ३५ गाविस बढी मात्रामा प्रभावित बनेका थिए ।