भक्तपुर अस्पतालमा स्थानीयको धर्ना

434

चैत २१,
भक्तपुर । अस्पतालको सेवा सुधार्नु पर्ने लगायतका १९ सुत्रिय माग राख्दै भक्तपुर अस्पतालमा आज स्थानीय धर्ना दिएका छन् ।
स्थानीयले अस्पतालमा आएका विरामीले गुणस्तरीय उपचार पाउनुपर्ने, ईमरजेन्सीमा निःशुल्क उपचार पाउनुपर्ने, तत्काल आईसियू सेवा संचालन गर्नुपर्ने, एम्बुलेन्सको व्यबस्था गर्नुपर्ने, बेवारिसे विरामीको निःशुल्क उपचार हुनु पर्ने, अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने, अस्पतालको मेशिन बन्द गरेर एक्सरे र ल्याब सेवा बाहिर पठाउन बन्द गर्नुपर्ने माग राखेका छन् । अस्पतालले सिटि स्क्यान मेशिन संचालन गर्नुपर्ने, अस्पतालको शौचालय अत्यन्तै फोहोर भएकाले सुधार्नु पर्ने, दरबन्दी अनुसारको डाक्टर र दरबन्दीको तत्काल व्यबस्था हुनुपर्ने, पार्किङ्ग व्यबस्थित गर्नुपर्ने लगायतको माग राख्दै युवाहरुले धर्ना दिएका हुन् ।
स्थानीय युवाहरुले आगामी ६ साता भित्र माग पुरा गर्नुपर्ने माग राख्दै अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटालाई ज्ञापन पत्र बुझाएको हो । बीर अस्पताल पछिको दोश्रो तथा ११३ वर्ष पुरानो भक्तपुर अस्पतालले विरामीको लागि पर्याप्त र गुणस्तरीय सेवा संचालन गर्न नसकेकाले अस्पताल सुधारका लागि धर्ना दिनु परेको बताए ।
अस्पतालको सुपरिटेण्डन डा. देवकोटाले स्थानीयको माग सकारात्मक भएको बताउँदै आफू आए लगत्तै सेवामा सुधार एवं अस्पतालाई व्यबस्थित गर्न लागेको बताउनुभयो । अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रेम खड्काले चैत मसान्तसम्ममा अस्पताललाई सुधार गर्दै माग पुरा गर्न प्रयास गर्ने बताए ।