घुसको रकम लिएर एजेन्ट भागेपछि यातायात कार्यालयका कर्मचारीको फाइट

424

बाँके । दुई करोड घुसको रकम लिएर एजेन्ट भागेपछि यातायात व्यवस्था कार्यालय भेरीका हाकिम र कर्मचारी बिच कुटाकुट भएको रहस्य बाहिर आएको छ । उक्त घटना सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक प्रमाणपत्रको परीक्षामा आर्थिक चलखेल गरेको भन्दै यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदीलाई निलम्बन गरेको छ । केही दिन अगाडी जीप कारको नतिजा सार्वजनिक भएको समयमा कार्यालय प्रमुख र कर्मचारीबीच कार्यालयमा बिवाद भएको सार्वजनिक भएको छ । आर्थिक बिषयमा कुरा नमिलेपछि केही कर्मचारीले कार्यालय प्रमुख सुवेदीलाई कार्यालयको क्वाटरमै हातपात गरेपछि प्रहरी पुगेको थियो । त्यससमयमा प्रमुख सुवेदीले एकजना एजेन्टले झण्डै दुई करोड रुपैयाँ लिएर भागेका कारण आफूले कर्मचारी लाई रकम बाँड्न नसक्ने बताएको खुलेको छ । यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार प्रमुख सुवेदीलाई निजामती सेवा ऐन अनुसार निलम्बन गरिएको हो । सुवेदीलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन पत्र पठाइएको कार्यालय स्रोतले जनाएको छ । सुवेदीलाई सहयोग गरेको भन्दै कार्यालयमा कार्यरत १४ जना कर्मचारीलाई तीन दिने स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ । यातायात व्यवस्था कार्यालयले गएको भदौ महिनामा लिएको परीक्षामा ठूलो आर्थिक चलखेल भएको दावी मन्त्रालयको छ । परीक्षामा सहभागी भएका २३ हजार परीक्षार्थी मध्ये अधिकांशको उत्तरपुस्तिका जाँच नगरी उत्तिर्ण गरेको पाइएपछि विभागले अनुसन्धान अघि बढाएको थियो । नेपालगञ्ज यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र बितरण गरिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । व्यक्तिगत र सामूहिक रुपमा एजेन्टलाई पहिल्यै रकम जम्मा गरेर मात्रै परीक्षार्थीहरु सहभागी हुने गरेको आरोप लाग्दै आएको हो । स्रोतका अनुसार यातायात व्यवस्था कार्यालयले गएको भदौमा संचालन भएको जीप कारको परीक्षाको उत्तर पुस्तिका विभागको टोलीले पुनः जाँच गरेपछि अनियमितता सार्वजनिक भएको हो । उपसचिव नेतृत्वको विभागको टोलीले अहिले मोटरसाइकलको उत्तरपुस्तिका समेत पुन जाँच गरिरहेको दावी स्रोतको छ । मोटरसाइकलको लिखित नतिजामा ढिलाई भइरहेको जनगुनासोकाबीचमा विभागले छानविन अघि बढाएको छ ।