सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ सरकारी बजेटबाटै

306

चैत १४, काठमाडौं।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ ।भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक/एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो ।
पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।“सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ” – उनले भने ।
माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ ।मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैंकको रु २५ अर्ब सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेन बनाउने कार्य सुरु भएको हो ।