आज कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै

245
फाइल तस्विर

चैत १३,
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको मागपछि नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आइतबार बस्दैछ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय विषयमा छलफल केन्द्रित गर्ने तयारी गरेको छ भने पार्टीको आन्तरिक विषयलाई जोड दिने भएको छ । सभापति देउवा पक्षले कार्यसम्पादन समिति गठन, विभिन्न समिति गठन, स्थानीय तहको चुनावमा उम्मेद्वार चयन र मापदण्ड तय गर्ने लगायत विषयलाई बैठकमा प्राथमिकता दिने तयारी गरेको छ । तर वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी मनोनयन नभएको, कार्यसम्पादन समिति नबनाइएको, पार्टीभित्र छलफल नगरी सभापतिले निरंकुश ढंगले निर्णय गर्ने गरेको जस्ता विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका छन् । नेता पौडेल पक्षले पाँच महिनासम्म केन्द्रिय कार्यसमितिको बैठक नबसेको भन्दै केही समयअघि बैठक बोलाउन सभापति देउवालाई ज्ञापन पत्र नै बुझाएको थियो । कार्यसम्पादन समितिमा पार्टीका शीर्ष नेता रहनेछन् । पदाधिकारी नियुक्तिको विषय भने यसपटकको बैठकमा एजेण्डा नरहने सभापति देउवा निकट नेताले बताएका छन् । । झण्डै ५ महिनापछि बस्न लागेको बैठकमा सभापति देउवाले २२ सदस्यीय कार्यसम्पादन समिति र विभिन्न विभाग गठनको प्रस्ताव गर्ने तयारी गरेको उहाँ निकट नेताले बताएका छन् ।