केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण विषयमा छलफल

221

चैत ११ , काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा द्विपक्षीय एवम् क्षेत्रीय विकासलाई ध्यान दिएर चीनले अगाडि बढाउँदै आएको ‘एक क्षेत्र एक मार्ग’(ओबिओआर)का विषयमा नेपालले सहमति जनाउने र त्यस विषयमा चाँडै सम्झौता गरिने वचन दिएको भ्रमणमा सहभागी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री दाहालद्वारा प्रस्तावित उक्त विषयमा सहमति जनाउँदै चीनका उपप्रधानमन्त्री झाङले नेपालको आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालले अपनाउँदै आएको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उनले पछिल्लो समयमा नेपालमा नयाँ संविधान जारी भएकामा खुसी प्रकट गर्नुका साथै नेपालमा देखिएका समस्या नेपाली राजनीतिक दल एकापसमा मिलेर सल्टाउन सक्षम भएको पनि स्पष्ट पारे। उनले नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले आगामी दिनमा चीनले नेपालको ऊर्जा, रेल एवम् पूर्वाधारका क्षेत्रको विकासमा सहयोग गर्ने विश्वास दिलाए ।