चैत ११, रोल्पा ।
“धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छु ।” नुवागाउँ–६ रोल्पाका २४ वर्षीय घनश्याम बुढाको भनाइ हो यो ।
बुढाले कक्षा ३ उत्तीर्ण गरेका छन्। उनकी श्रीमती जिल्ला बाहिरबाट सिएमएको परीक्षा दिएर हाल लिबाङको एक विद्यालयमा प्लस टु मा अध्ययनरत छिन्। श्रीमतीले पढ्ने आँट गर्दासम्म पढाउने उनको धोको छ । यो जोडीको विवाह भएको दुई वर्ष बितिसकेको छ । तर उनीहरुले सन्तानको बारेमा सोचेका छैनन्।
आफू एकछाक खाएर एकसरो लगाएर भए पनि श्रीमतीलाई उच्च शिक्षा दिलाउने बुढाको धोको छ । “सन्तानका बारेमा केही सोचेका छैनौँं, उनले पढेर कुनै जागिरमा जोडिएपछि सन्तानको रहर पूरा गर्ने निधो गरेका छौंँ,” उनले भने।
उनी दुई वर्षको नाबालक हुँदा उनको बुबाको झाडापखालाका कारण मृत्यु भएको थियो । त्यसको ६ महिना पुग्न नपाउँदै दूधे बालकसहित चारजना नाबालक छोराछोरीलाई घरमै छोडेर उनकी आमाले अन्तरजातीय विवाह गरेर गएको भन्ने सुने पनि उनलाई बुबाआमाको मुहार त के झझल्को समेत छैन ।
बुढाका अनुसार घरमा भएकी ठूलीआमाले दुःखसुख गरेर हुर्काएपछि उनको संसार देख्ने सपना त पूरा भयो तर पढेर केही गर्ने रहर अझै पनि अधूरो नै रहेको छ । त्यसैले उनी श्रीमतीलाई पढाएर आफ्नो धोको पूरा गर्ने रहरमा लागिपरेका छन् ।
जन्म तथा कर्म दिने अभिभावकले छोडेपछि उनको बाल्यकाल निकै कष्टकर बन्दै गएको थियो भन्ने सुनेको भए पनि आफ्नो बाल्यकालका बारेमा उनी अनभिज्ञ छन् जसका कारण उनले विद्यालय जाने र उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपरेको हो ।
हाल उनी लिबाङको एक ग्रिल उद्योगमा मिस्त्री काम गर्छन्। करिब दुई वर्ष पहिले विवाह बन्धनमा बाँधिएको यो जोडी समाजमै उदाहरणीय बन्दैछ ।
उनकी श्रीमतीको पनि उस्तै दर्दनाक कथा छ । अर्थाभावका कारण उनी नियमित विद्यालय जान सकिनन् । कक्षा–८ उत्तीर्ण गरेसँगै खुल्ला विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनको पढाइले विश्राम पाउँदै थियो तर बुढासँग विवाह बन्धनमा बाँधिएपछि आफू जोखिमयुक्त काम गरेर भए पनि श्रीमतीलाई पढ्ने वातावारण मिलाउँदै आएको उनले बताए।
“पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाजमा महिला घरकै काममा जोतिइरहँदा पनि पुरुष कुलतमा फसेका प्रशस्तै उदाहरण देख्न पाइन्छन् तर बुढाले आफू मिस्त्री काममा खटेर पनि श्रीमतीलाई पढ्ने अवसर जुटाइरहेका छन् यो एकदमै सराहनीय काम हो,” उनका एक सहकर्मीले भने ।
दश वर्षको उमेरमा श्री जनता प्राथमिक विद्यालय नुवागाउँ रोल्पामा १ कक्षामा भर्ना भएका बुढाले कहिले पनि विद्यालय पोसाक लगाउन पाएनन्। तीन कक्षा पढ्दासम्म उनले आधा दर्जन कापी र करिब आधा दर्जन डटपेनका भरमा ३ कक्षा उत्तीर्ण गरे। तर साँझ बिहानको समस्या हल गर्न गाह्रो भएपछि चार कक्षाको पढाइलाई बीचमै रोकेर उनी कामको खोजीमा काठमाडाँैको इँट्टाभट्टा गए। त्यहाँबाट फर्केर पटक÷पटक वैदेशिक रोजगारिका लागि कहिले मलेसिया त कहिले कतार पुगेका बुढा अब स्वेदशमै केही गर्ने सोचमा छन्।
हातमा सीप र मनमा आँट भए स्वदेशमै प्रशस्तै काम पाइने उनको भनाइ छ । एकबारको जीवनमा श्रीमान् श्रीमती एकले अर्कालाई बुझ्नसके, दुःखसुख साटेरसँगै बाँच्न पाए जीवनमा त्यो भन्दा ठूलो सुख अरु केही नहुने बुढाको भनाइ छ ।