बोआओ मञ्चमा भाग लिन प्रम चीन प्रस्थान , यस्तो छ कार्यतालिका

215

चैत ११, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन हिजो राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थिति रहेको थियो। सो अवसरमा प्रधानमन्त्रीका सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अपर्ण गरेको थियो । प्रधानमन्त्रीका साथमा धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी समेतको सहभागिता रहेको छ ।
प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बोआओमा रहँदा प्रधानमन्त्रीले आज चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र भोलि शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । भोलि अपराह्न प्रधानमन्त्री बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन समेत गर्नेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनेछन् ।