पैसा नभएपछि मानसिक रोग लागेका युवक खोरभित्र बन्द

340

चैत १०,
गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन् । यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धनराज विकले बताए । २०६५ साल अघिसम्म मानसिक रुपमा स्वस्थ रहेका शिवराज २०६५ को फागुन महिनातिर विस्तारै मानसिक सन्तुलन गुामाएपछि उनलाई घरपरिवारले सामान्य उपचार गर्दै आएका थिए । आर्थिक अभावका कारण शिवराजलाई अन्यत्र अस्पतालमा लगेर उपचार गर्न नसक्दा घरनजिकै खोर बनाएर राख्दै आएको स्थानीय धनराज विक बताउँछन् । केही आर्थिक सहयोग भएमात्र पनि शिवराजलाई अन्यत्र ठूला अस्पताल वा भारतमा लगेर उपचार गराउन सकिने भएता पनि खर्चको अभावमा अहिलेसम्म ठूला अस्पतालमा लगेर उपचार गराउन नसकिएको कुरा स्वयम् शिवराजका बुबा रामकुमार विकले बताए । आफूहरु बूढाबूढीमात्र घरमा रहेको र आफूहरुको समेत हातखुट्टा चल्न कमजोर भइसकेकाले घरमा काम गरेर खुवाउने मान्छे समेत नहुँदा झनै छोराको उपचार हुन नसकेको शिवराजका बुबा रामकुमार विकले दुखेसो समेत गरे । रु चार÷पाँच लाखसम्म पनि आर्थिक सहयोग गर्ने दाता भए शिवराजको उपचार हुनसक्ने छिमेकीको समेत धारणा रहेको छ ।