एकल महिलाले लगाए सामूहिक रुपमा रातो पहिरन

457

चैत ७,
नुवाकोट । नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा रातो पहिरन लगाएका छन् । सूर्यगढी गाँउपालिका–२ र ३ मा रहेका १८४ जना महिलाले रातो टीका, सारी र पछ्यौरा लगाएका हुन् । श्रीमानको निधनपछि महिलाले त्याग गर्दै आएको रातो पहिरनले समाजमा अपहेलित हुनुपरेको भन्दै सामूहिक रुपमा भेला भएर सौभाग्य ग्रहण गरेको बागेश्वरी एकल महिलाका अध्यक्ष देउती ढकालले बताइन् । साविकको बागेश्वरी गाविसमा रहेका महिलामध्ये इच्छुक भएका १८४ जनालाई रातो टीका, पछ्यौरा र सारी लगाएर श्रीमान् गुमाउनु पर्दाको पीडा बिर्साउन र परिवारदेखि समुदायमा सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुने अपेक्षा गरेका अध्यक्ष ढकालले बताइन् । सरकारी तथ्यांकअनुसार बागेश्वरीमा २२० जना एकल महिला रहेकामा अखिल नेपाल महिला संघ केन्द्रीय समितिको समन्वयनमा भएको रातो पहिरन ग्रहणमा १ सय ८४ जनाले श्रीमानको सौभाग्यको रुपमा रहको रातो टीकासहितका कपडा पहिरिएको संघका केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले जानकारी दिइन् । एकल महिलालाई राज्यले सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि सामाजिक पुनःस्थापना तथा समुदायमा रहेको विभेदकारी नीतिको अन्त्य गराउन भने पहल नगरेको उनीहरुको गुनासो छ ।