पैसा चोरेको आशंकामा पोखराबाट दुई बिदेशी पक्राउ

435

चैत ५,
पोखरा । नेपालमा आएर विभिन्न माध्यमबाट पैसा चोर्ने विदेशीको संख्या बढ्दै गएको छ । यसैबिच एटीएमबाट डाटा चोरी गरी पैसा झिकेको आशंकामा दुई विदेशी नागरिकलाई प्रहरीले पोखराको लेकसाईडबाट पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको लेकसाईडमा फ्ल्याट भाडामा लिएर बस्दै आएका बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन ऋस्टोर पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नगद ३ लाख, एटीएम चिफ रिडर, चोर्न प्रयोग गरिएका अन्य सामग्री, भिसा कार्ड तथा ल्यापटप लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चोरीको पुष्टी नभएपनि शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका बुल्गेरियन नागरिकहरुले हिमालयन वैंक र नविल वैंकको लेकसाईडस्थित एटीएमबाट पैसा झिकेको प्रहरीको आरोप छ ।
२ दिनअघि नबिल वैंकबाट पैसा झिक्ने क्रममा वैंकका कर्मचारीलाई शंका लागेपछि वैंकमा लगाइएको सिसी क्यामराको फुटेज हेर्दा घटनाको खुलासा भएको थियो । त्यसपछि प्रहरीलाई खबर गरेको र शनिबार विहान उनीहरुलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । उनीहरुमाथि काठमाडौंबाट आएको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।