११ तोपको सलामी दिइ गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी

363

फागुन २९, कन्चनपुर ।
गत विहिबार भारतीय एसएसबीको गोली लागेर मृत्युवरण गरेका गोविन्द गौतमको आज ११ तोपको सलामी सहित राष्ट्रिय सम्मानका साथ कञ्चनपुरको दोदा नदी किनारमा अन्त्येष्टि गरिएको छ । यसअघि सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको गौतमको शवयात्रामा हजारौं मानिसहरु सहभागी थिए ।
गौतमको पार्थिव शरीरमा उनका पिता ७२ वर्षीय खेमलाल गौतमले दागबत्ती दिए । सीमा नजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा गत बिहीबार गौतमको मृत्यु भएको थियो ।
पुनर्बासका स्थानीय राजनीतिक दल, नागरिक समाजले राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । उनीहरूले अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग गरेको थिए । सरकारले गौतमको परिवारलाई १० लाख राहात र गौतमकी पत्नी गोमतीलाई पुनर्बास नगरपालिका कार्यालयमा जागिर दिनसमेत सबै दल सहमत भएपछि शव बुझिएको थियो ।