झापामा वाई फाई फ्रि चौतारी

913

फागुन २५,
काठमाडौं । अनुभव बाँड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् । शनिअर्जुन–१ शनिश्चरे बजारमा करिब रु पाँच लाखको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ जना अटाउन सकिने आरामदायी फलामे फलँैचा निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले दर्ता गरेको सामुदायिक मिलन केन्द्र नामक संस्थाले बिहान ४ देखि राति १० बजेसम्म चौतारीमा निःशुल्क इन्टरनेट (वाईफाई) र पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई बताए । स्थानीय ज्येष्ठ नागरिकले चौतारो निर्माणका लागि आफ्नै पहलमा रु दुई लाख संकलन गरेपछि शनिअर्जुन नगरपालिकाले अन्य रकम उपलब्ध गराएको थियो । ज्येष्ठ नागरिकको रचनात्मक सक्रियता देखेर सहारा नेपाल नाम गैरसरकारी संस्थाले केन्द्रको भवन बनाइदिने घोषणा गरेको छ । छतिउनको तीनवटा ठूलो रूखको फेदमा पक्की संरचना बनाएर त्यसमाथि फलामे फलैँचा राखिएका छन् । फलैँचामा भेला भएर ज्येष्ठ नागरिक मोबाइलमा फेसबुक, ट्विटर र स्काइप चलाउने गर्छन् । घरमा खाना खाएर वरपरका अधिकांश वृद्ध दिनभर चौतारीमा भेला हुने र आफ्ना अनुभव आदानप्रदान तथा विदेशमा भएका आफ्ना छोराछोरी र नातिनातिनासँग भिडियो च्याटमा रमाउने गरेको शनिअर्जुन नगर विकास समितिका अध्यक्ष कुमार भट्टराई बताए । झापाको शनिश्चरे सयौँ वर्ष पुरानो बस्ती हो । यहाँका ज्येष्ठ नागरिक पढेलेखेका छन् । चौतारीमा नियमित आउनेमा पूर्ववनमन्त्री वीरमणि ढकाल, झापा जिविसका पूर्वसभापति कृष्णप्रसाद मिश्रलगायत हुनुहुन्छ । चौतारीबाट दुईसय मिटरको दूरीमा प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम रहेको छ । ज्येष्ठ नागरिकसँग भएका अनुभव साटासाट गर्ने र आफ्नो क्षेत्रको सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्यले ज्येष्ठ नागरिकले संगठित प्रयास गरिरहेको पूर्वमन्त्री ढकाल बताए । निःशुल्क इन्टरनेट सुविधाका लागि खर्च जुटाउन ज्येष्ठ नागरिकले चौतारीमा खुत्रुके राखेका छन् । वाईफाई चलाउने व्यक्तिले स्वेच्छाले खुत्रुकेमा सहयोग रकम जम्मा गरिदिँदै आएका छन् । ज्येष्ठ नागरिकका लागि बनाइएको भनिएपनि निःशुल्क वाईफाई सुविधा उपयोग गर्न तन्नेरी पुस्ताको समेत चौतारीमा भीड लाग्ने गरेको छ । पुरानो र नयाँ पुस्ताबीच भलाकुसारी गर्नका लागि चौतारी गजबको प्लेटफर्म बनेको छ ।