बन्दले छोएन पूर्वराजालाई्

341

फागुन २४, चितवन । पूर्वराजा ज्ञानेन्द्र मंगलबार बिहान चितवनबाट निजी सवारी साधनमा नवलपरासीको दम्कौली पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी पुगेको केही घण्टापछि पूर्वराजा त्यहाँ पुगेका हुन् ।
चौधरी गु्रपले दम्कौलीमा निर्माण गरेको सीजी धामको उदघाटनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र त्यहाँ निम्त्याइएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बिहानै पुगेकी थिइन् भने ज्ञानेन्द्र दिउँसो पुगेका छन् ।
पूर्वराजा दम्कौली जानका लागि सोमबार नै काठमाडौंबाट चितवन पुगेका थिए । मंगलबार दिउँसो उनी गाडी चढेर चितवनबाट दम्कौलीतर्फ लाग्दा बाटामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए ।
दम्कौलीबाट तौलीहवा जाने क्रममा राष्ट्रपतिको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि पूर्वराजाले भने कतै पनि विरोधको सामना गर्नुपरेको छैन । राजविराजमा सोमबार तनाव भइरहेका बेला पूर्वराजा चितवन झरेका थिए । पूर्वराजा चढेकै विमानका राप्रपा अध्यक्ष कमल थापा पनि थिए । उनीहरु बुद्ध एयरबाट ओर्लिएका थिए । भरतपुर विमानस्थलमा राजावादीहरुले वाजागाजासहित उनीहरुको भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा उपस्थित जनमानसले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।
पूर्वराजा सोमबार राति नारायणगढस्थित होटल सेन्ट्रल पाममा बसेका थिए ।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष थापाले आन्दोलनरत मधेसी मोर्चालाई विश्वासमा लिएर जायज माग सम्बोधन गरी निर्वाचनमा सहभागी हुने वातावरण सरकारले बनाउनुपर्ने बताएका थिए ।
राप्रपा अध्यक्ष थापा सोमबार राति चितवनको मेघौलीमा बसेका थिए । उनी पनि पूर्वराजासँगै दम्कौलीको सीजी धाममा सहभागी भए ।
दम्कौलीमा भारतीय आध्यात्मिक गुरु रविशंकर पनि पूर्वराजा र कमल थापाका साथमा थिए । रविशंकर उनै व्यक्ति हुन्, जसले ओली सरकारका पालामा तत्कालीन परारष्ट्र मन्त्री रहेका कमल थापालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार गराइदिएका थिए ।