मेची काली यात्रामा हरेक कार्यकर्ता सडकमा उत्रिन एमालेको उर्दी

171

फागुन १०,
काठमाडौं । आगामी फागुन २१ देखि चैत चारसम्म मेची(महाकाली अभियानको तयारीमा रहेको प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पूर्वनिर्धारित कार्यक्रममा अवरोध नगर्न अन्य राजनीतिक दल र उनका कार्यकर्तालाई आग्रह गरेको छ । अभियानको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने बताए । उनले भने, ‘यसले एमालेबिरुद्ध छरिएको भ्रम पनि चिर्नेछ ।’
अध्यक्ष ओलीले अभियान कसैको बिरोध र भण्डाफोरको लागि नभएकाले अवरोध नगर्न अन्य पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । तर यसमा अवरोध तथा भाँजो हालिए एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने पनि ओलीले प्रष्ट पारे ।मेची महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन गरेको छ । अभियान झापाबाट २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ । यसबीचमा हुने बिभिन्न औपचारिक कार्यक्रम तथा सभाहरुमा एमालेका उपलब्ध नेताहरुले सम्बोधन गर्ने बताइएको छ । अभियानका सबै कार्यक्रमहरु पूर्व पश्चिम राजमार्ग केन्द्रित हुनेछन् । एमालेले मेची महाकाली अभियानमा अनिवार्य उपस्थितिका लागि कार्यकर्तालाई हृवीप नै जारी गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘अभियान सुरु हुन १० दिन बाँकी छ, हरेक नगरदेखि वडा र गाउँस्तरसम्म जो जहाँ छन्, हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ । एउटै स्वरमा नारा लगाएकै हुनुपर्छ ।’ उनले थपे, ‘यदि राजमार्गमा आउन सम्भव नभए गाउँस्तरमा भएपनि अभियानबारे स्थानीयलाई स्पष्ट पार्नुपर्ने छ ।’
अध्यक्ष ओलीले हृवीप नटेर्ने कार्यकर्ता एमालेका लागि औचित्यहीन रहेको समेत बताए ।