भक्तपुरमा श्रीमतीको सहयोगमा श्रीमानले गरे बालिका बलात्कार

312

फागुन १,
भक्तपुर । श्रीमतीको सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधा जंगमल लाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
गत मंसिर २१ गते राति ७ बजे राजकृष्णकी श्रीमती राधाले बालिकालाई बाटोबाट फकाई आफ्नो घरमा ल्याएर श्रीमानको जिम्मा लगाई आफू बाहिर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कायस्थले श्रीमती राधालाई छिमेकी बालिका बोलाउन पठाएको र श्रीमतीले बाटोमा भेटिएकी पीडित बालिकालाई २० रुपैयाँ दिएर फकाएर घर ल्याई श्रीमानको जिम्मा लगाएको पीडितपक्षको आरोप छ ।
बालिका बलात्कारपछि श्रीमती राधाले २ सय रुपैयाँ दिएर परिवार र गाउँमा हल्ला नगर्न भन्दै पटक–पटक धम्की दिएको पीडित बालिकाले प्रहरी समक्ष बताएको प्रहरी नायब उपरिक्षक ओलीयाले जानकारी दिए ।
ढोकाको चुकुल लगाई श्रीमानलाई बालिका बलात्कार गर्न सहयोग गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले हिजो शनिबार दुबै जनालाई प्रक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई आइतबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।