हत्या गर्नेलाई थुनामा राख्न आदेश

194

माघ २१,
ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो । सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सबिनसहित १५ जनालाई निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । नियन्त्रणमा रहेका १५ जनामध्ये खोक्लिङ–८ का पूर्णबहादुर लिम्बूलाई भने सादा तारेखमा छाडिएको छ भने तोयानाथ लिम्बूलाई रु ५० हजार धरौटी माग गरेको जनाइएको छ । यस्तै, विष्णुुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरिएको छ भने ताप्लेजुङ हाङदेवा–५ का रामबहादुर लिम्बू, ताप्लेजुङ नगरपालिका–६ का देउकला मादेन लिम्बू र रिया भनिने सोनिसा लिम्बूलाई जनही ४० हजार रुपैँया धरौटी माग गरेको अदालतले जनाएको छ । जाजरकोट जिल्लाको दशेरा गाविस–८ मा घर भई विगत दुई वर्षदेखि वनरक्षकमा कार्यरत रहेका शाहीको गत पुस १७ गते कार्यस्थलमा नै बीभत्स हत्या भएको थियो ।