क्याम्पसमा नयाँ भर्ना रोक

205

काठमाडौं । त्रिभुवन विश्वविद्यालय आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ । विद्यार्थी संगठनले स्ववियु निर्वाचनको चहलपहललाई तीव्र पारेपछि त्रिवि पनि सक्रिय हुँदैछ । त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले निर्वाचनका लागि सबै क्याम्पसलाई पत्राचार गरिएको जानकारी दिइन् । उनका अनुसार स्ववियु आचारसंहिता निर्देशिका, निर्वाचन कार्यतालिका र स्ववियु विनियमावली सबै क्याम्पसमा पठाइसकेको छ । सबै क्याम्पसलाई निर्वाचन समिति गठन गरेर काम थाल्न निर्देशन पनि दिइसकेको समेत उनले बताइन् । त्रिविले आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई लक्ष्य गरेर क्याम्पसमा नयाँ भर्ना रोक लगाएको छ । यस पटकको स्ववियु निर्वाचन पहिलो पटक २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणालीका साथ हुँदैछ ।