नेपालको सुगन्धित तेल युरोप र अमेरिको बजारमा

275

रोल्पा । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेकोे हो । यसरी जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका ब्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको छ । मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती संकलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन् । हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ । जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन् । यसरी जडिबुटी उत्पादन तथा प्रसोधनका लागि सामुदायिक वनमा आबद्ध भएका ब्यक्तिहरु, थोरै भएपनि खेतीयोग्य जमिन भएका परिवारहरु, सामुदायिक वनका ‘ग’ वर्गका उपभोक्ताहरु तथा सिँचाइको सुविधायुक्त जमिन हुने घरधुरीलाई प्राथमिकतामा राखिएको छ ।