किसानले उखुको मुल्य पाएनन्

318

कपिलवस्तु । उखु उत्पाना गर्दै आएका धेरै किसानले अघिल्ला दुई वर्षको रु दुई करोड ५० लाख भुक्तानी नपाएको गुनासो गरेका छन् । सरकारले यस वर्षको उखुको मूल्य समयमै निर्धारण नगर्दा किसान चिन्तित बनेका छन् । तर उक्त मिलले मनोमानी ढङ्गले नेपाली उखुको प्रतिक्विन्टल रु ४९२ मूल्य कायम गरेको छ । मिलमा अहिले उखु धमाधम आयात हुन थालेको छ । सो मूल्य निर्धारणप्रति कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले असहमति व्यक्त गरेका छन् । उखु उत्पादक संघ तथा चिनी उत्पादक संघले कायम गरेको मूल्य भुक्तानी गर्नुपर्ने उनको माग छ । मिलले भारतीय उखुलाई भने प्रतिक्विन्टल रु ५ सय १२ का दरले भुक्तानी दिँदै आएको छ । सरकारले किसानलाई प्रतिक्विन्टल उखुमा रु २५ अनुदान दिने घोषणा गरे पनि उक्त मिलले भुक्तानी गर्न सकेको छैन । शिवराज नगरपालिका– १३, जवाभारीस्थित महालक्ष्मी सुगर मिलले उखुको क्रसिङ सुरु गरेको छ । दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेको सो मिलले नेपालको उत्पादनले मात्र मिल चलाउन नसक्दा भारतीय उखुमा निर्भर हुनुपरेको उक्त मिलका प्रबन्धक हरिनारायण चौधरीको गुनासो रहेको छ । कच्चा पदार्थको अभावमा गत वर्ष पुस ११ गतेबाट सञ्चालन भएको सो मिल फागुन १० गते बन्द हुन पुगेको थियो । गत वर्ष मधेस आन्दोलन र नाकाबन्दीको चपेटामा परी दुई महिनामात्र सञ्चालन भएको सो मिलले यस वर्ष मङ्सिर २७ गतेबाट क्रसिङ सुरु गरेको छ ।