नारायणगढ–बुटवल सडकः यसरी हुँदैछ विस्तार

153

११ पुस,
काठमाडौं । नारायणगढदेखि बुटवलसम्मको सडक खण्ड आधुनिक स्वरुपमा विस्तार हुने भएको छ । अहिले दुई लेनमात्रै रहेको यो खण्ड विस्तारपछि चार लेनको हुनेछ । सँगै अस्फाल्ट र सर्भिसलेन पनि जोडिनेछ । पूर्व-पश्चिम राजमार्ग अन्तरगतको महत्वपूर्ण खण्डका रुपमा रहेको सडकलाई विस्तार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो । यसका लागि टेण्डर आह्वान भइसकेको बुटवल-नारायणगढ सडक आयोजनाका इन्जिनियर प्रदीपराज शाक्यले बताए । टेण्डर प्रक्रिया टुंग्याएर एडीबीको सहमति लिएपछि आयोजना कार्यान्वयन हुनेछ । आगामी अपि्रलदेखि सडक विस्तारका लागि भौतिक निर्माणको काम सुरु हुने शाक्यले बताए ।
अप्रिलदेखि काम सुरु
सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । डिटेल इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ । अब स्थानीय स्तरमा वातावरणीय प्रभावबारे सार्वजनिक सुनुवाइको काम गर्न बाँकी छ । ‘बुटवलमा पछिल्लो समयमा आन्दोलन भइरकेकाले सुनुवाइ भएको छैन, त्यो प्रक्रिया पनि सकाएर छिटै सबै तयारीलाई अन्तिम चरणमा पुर्‍याउँछौं’ इन्जिनियर महर्जनले भने । यो सडक खण्डमा केही भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन ईआइएको काम पनि अघि बढेको छ ।
कति छ लागत ?
यो आयोजना सम्पन्न गर्दा सडक क्षेत्रभित्रका झण्डै २५ सय रुखहरु काटिनेछन् । यसका लागि वन मन्त्रालयसँग स्वीकृतिको प्रक्रिया अघि बढेको छ ।
यो सडकसहित अर्को एउटा सडक आयोजनाका लागि एडीबीले सडक विभागलाई झण्डै १९ अर्ब बराबरको ऋण दिँदैछ । यो सहलियत ब्याजदरको ऋण हो ।
यसमध्ये नारायणगढ-बुटवल आयोजनाका लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, सडक विभागले भने औपचारिक रुपमा लागतबारे बोलेको छैन ।
ग्रीनरी बेल्टसहितको सडक
नारायणगढ-बुटवल सडकखण्ड अहिले दुई लेन मात्रै छ । विस्तार भएपछि यो चार लेनको हुनेछ । दुई-दुई लेनको बीचको भाग ‘ग्रीनरी’का लागि छुट्याइनेछ ।
मिडियम भागलाई केही अग्लो रुपमा उठाइनेछ र त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । यो भाग तीन मिटरको हुनेछ । विस्तार भएपछि डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
दुबै छेउमा पातलो पीच पनि
सडकको दुबैतर्फको छेउ भागमा पनि पातलो पीच गरिनेछ । यस्तो सडकलाई असफाल्ट भनिन्छ ।
सडकको दुबैतर्फ २.५ मिटरको भागलाई पातलो पीच गरेर गाडीहरु पार्किङका लागि प्रयोग गर्न मिल्ने गरी बनाइनेछ । यो भागमा गाडी भने गुड्न पाउने छैनन् । ‘यो कमसलको खालको पीच हो । यसले रोडमा गुड्ने सवारीको सुरक्षा गर्छ भने यो उपयोगी पनि हुन्छ’ शाक्यले भने ।
वस्तीहरुमा सर्भिस लेन
यो सडक खण्डको मूलः विशेषता हो राजमार्ग छेउका बस्तीहरुमा ‘सर्भिस लेन’ । सडकको किनारमा बस्ती भएका क्षेत्रमा सडक विस्तार गर्दा सर्भिस लेन पनि राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । झण्डै २८ किलोमिटर सडकमा सर्भिस लेन पनि हुनेछन् । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । सर्भिस लेन पनि ७ मिटरको हुनेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।
दुई प्याकेजमा काम
१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायण गढ-दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ । यी दुई खण्डमा फरक-फरक ठेक्का लाग्नेछ ।
यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । त्यसपछि एक वर्ष यो सडक परीक्षण अवधिमा रहनेछ । ठकेदारले थप चार वर्षसम्म सडकमा कुनै समस्या आएर आफैंले मर्मत सम्भार गर्नेछन् ।
दाउन्नेको उकालो तीन लेनको
बुटवल-नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो/ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । ‘त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएन’ इन्जिनियर शाक्यले भने, ‘त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।’
३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालेतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् । onlinekhabar