काठमाडौँ — चीन भ्रमणमा जान लागेका रास्वपाका २० सांसदलाई प्रधानमन्त्री वालेन्द्र शाहले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), नेपालमा चिनियाँ लगानीका आयोजना, पर्यटन विकास र नेपालका लागि चीनको आर्थिक सहयोगलगायतका एजेन्डामा चीनसँग छलफल गर्न निर्देशन दिएका छन् । त्यहाँ हुने छलफलमा राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्न पनि प्रधानमन्त्री शाहले सुझाएका छन् । रास्वपा महामन्त्री एवं सांसद विपिन आचार्यको नेतृत्वमा आइतबार (२९ कात्तिक) चीनतर्फ जान लागेको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री शाहले शुक्रबार छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बोलाएर निर्देशन दिएका हुन् । १२ दिने चीन भ्रमण सकेर रास्वपा सांसदहरू १० मंसिरमा फर्कने तालिका छ ।
‘तपाईंहरू सरकारमा (मन्त्री) नभए पनि सत्तारूढ दलकै सांसद भएकाले ढुक्क भएर विषयवस्तु राख्नुहोला,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै एक सांसदले कान्तिपुरसँग भने, ‘यो उच्चस्तरीय भ्रमणले नयाँ परिस्थितिमा नेपाल–चीन सम्बन्धमा नयाँ आधारशिला तय गर्नेछ, सार्वभौम सांसद भएकाले निर्धक्क भएर आफ्ना कुरा राख्नुहोला ।’
नेपालमा चिनियाँ लगानीका योजनाहरूको अवस्था र बीआरआईका सम्बन्धमा पनि आगामी दिनमा दुई देशबीच हुने छलफललाई सहज बनाउने गरी विषयवस्तु राख्न प्रधानमन्त्री शाहले सांसदहरूलाई निर्देशन दिएका थिए । ‘बीआरआईबारे धेरै विवाद भयो, यो विषयमा चनाखो भएर कुरा राख्नुपर्छ, यसलाई राष्ट्रिय हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने हिसाबले कुरा राख्नुपर्यो,’ प्रधानमन्त्रीको निर्देशन थियो, ‘बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला । यो भ्रमणबाटै ऋणलाई अनुदानमा परिणत गर्न त सकिन्न तर भविष्यमा हुने दुईपक्षीय वार्ताबाट त्यो सम्भव र अनुकूल हुने ढंगले कुरा राख्नुहोला ।’ -कान्तिपुर दैनिक














