भदौ १० को बाढीः चीनतर्फबाट ५१९ जना अझै बेपत्ता

2

बेइजिङ– लाङटाङ हिमाल क्षेत्रमा गत भदौ १० गतेदगएको हिमपहिरो र पहिरोपछिको बाढीका कारण चीनतर्फ हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ।
भदौ १० गते बिहान तीव्र गतिमा आएको पहिरोले चीन–नेपाल सीमास्थित दक्षिणपश्चिम चीनको सिचाङ स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहमा भयंकर ठूलो क्षति पुर्‍याएको थियो। चीनतर्फ घटनामा हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले बेपत्तामध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेको जानकारी दिएका छन्। चिरोङ बन्दरगाह पहिरोले क्षतिग्रस्त भएपछि त्यहाँ व्यापार तथा रोजगारीका लागि पुगेका धेरै नेपाली नागरिकसमेत आवतजावत गर्न नपाएर अलपत्र परेका छन्।

पहिरोपछि चिनियाँ उद्धार टोलीले तत्काल खोज तथा उद्धार अभियान सुरू गरेको थियो। शनिबार साँझ ६ बजेसम्म चीनले उद्धार कार्यमा २ हजार ५०० भन्दा बढी उद्धारकर्मी र ५०० भन्दा बढी सवारीसाधन परिचालन गरेको छ। उद्धारका क्रममा ड्रोनमार्फत १ हजारभन्दा बढी उडान गरिएको छ भने ५.४३ टन राहत सामग्री हवाईमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको चिनियाँ अधिकारीहरूले बताएका छन्। गहिरो खोजी अभियान जारी रहेकै क्रममा दुई जनालाई जीवित उद्धार गरिएको पनि जनाइएको छ।

चीनले नेपालमा उद्धार तथा राहत कार्यका लागि सुरुङ उद्धार र डीएनए विज्ञसहित आवश्यक आपत्कालीन सामग्रीसमेत पठाएको जनाएको छ। साथै ३२० टन बेली ब्रिजका सामग्रीलगायत अन्य राहत सामग्री नेपाललाई उपलब्ध गराइएको छ। स्थानीय अधिकारीहरूले केरुङमा रहेका १ हजार ७२० नेपाली सीमा बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराएको बताएका छन्। यसैबीच, चीनले विपद् सूचना आदानप्रदान संयन्त्रमार्फत नेपाललाई दैनिक मौसम, जलविज्ञान तथा हिमनदीसम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको छ।