नुवाकोटको चक्रदेवी अस्पतालमा संकट : बिजुली छैन, पेट्रोल सकियो

5

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालमा ‘इमर्जेन्सी मोड’ मा सेवा सञ्चालन गरिएको छ। अस्पतालले घाइतेलाई प्राथमिक उपचार दिँदै गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाएको छ ।चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि सोही अस्पताल पुर्‍याइएको छ । बाढीले नुवाकोटको त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।बाढीका कारण सडक र पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने पहुँचसमेत प्रभावित भएको उनले बताए । ढुंगे क्षेत्रका पक्की पुल बगाउँदा आवतजावत ठप्प भएको र गम्भीर बिरामीलाई स्थलमार्गबाट काठमाडौं पठाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए । डा. परियारका अनुसार बिहीबारसम्म अस्पताल पुर्‍याइएका २४ जना बिरामीमध्ये ९ जनाको अवस्था गम्भीर थियो । उनीहरूलाई नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।