Friday, October 2, 2026
Home समाज काभ्रेमा लम्पी स्किन’बाट ६८१ पशु मरे

काभ्रेमा लम्पी स्किन’बाट ६८१ पशु मरे

38

काभ्रेपलाञ्चोक : ​जिल्लाका ३० हजार ७४३ पशु लम्पी स्किन सङ्क्रमणबाट प्रभावित भएका छन्। यो रोगबाट जिल्लामा ६८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो। केन्द्रका अनुसार यो रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६८१ पशुको मृत्यु भएको छ। उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन्। केन्द्रका अनुसार जिल्लामा ३० हजार ७४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार ४६४ गाई, २७९ भैँसी छन्।
केन्द्रका निमित्त प्रमुख डा नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताए। उनकाअनुसार ३३ हजार गाई र ३९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ। खोप लगाइएका पशुमा रोग देखिएको छैन। जिल्लामा तीन लाख गाईभैँसी छन्।
सबैभन्दा धेरै सङ्क्रमण दर जिल्लाको बनेपा नगरपालिकामा छ। बनेपाको छवटा वडामा ११८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ। बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ। बनेपामा छ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ। यहाँ प्रभावित पशु सङ्ख्या छ हजार २०० छन्। वडा नं. १ देखि ५ सम्म र १० नं. वडामा सङ्क्रमण फैलिएको जनाइएको छ।

केन्द्रका अनुसार पाँचखाल नगरमा १०० पशु मरिसकेका छन्। धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन्। चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत १० हजार रुपैयाँ तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ।