काठमाडौं । नेपाल टेलिकमका सहायक प्रशासकीय अधिकृत गौतम पोखरेल २०७६ भदौको एक दिन नेपाल नेत्रहीन संघको सुकेधारास्थित कार्यालयबाट धोबीखोला करिडोर हुँदै नैकापतर्फ फर्किरहेका थिए । वर्षाको समय सडक हिलाम्मे थियो । दुर्भाग्य, पैदलयात्रीका लागि सुरक्षित मार्ग थिएन धुमबाराहीस्थित राजधानी पेट्रोल पम्प नजिक पुगेका बेला उनी कुलोमा बजारिए । उनीसँगै ल्यापटप पनि पूरै भिज्यो । एक अपरिचितले उद्धार नगरेको भए घटना अझ गम्भीर बन्न सक्थ्यो । हाम्रो सडक संरचना नै दृष्टिविहीनका लागि कति ठूलो जोखिम निम्त्याउने खालको छ भन्ने दृष्टान्त हो, यो घटना । झन्डै यस्तै पीडा सिजन राईले पनि भोगेका छन् । भक्तपुरको कमलविनायकमा बस्ने उनी अध्ययन र कामका सिलसिलामा सार्वजनिक यातायातमा नियमित काठमाडौं आउजाउ गर्छन् । धेरैजसो बसले उनलाई देखेर पनि नरोक्ने, रोकिहाले पनि चाँडै चढ्न वा झर्न दबाब दिने गर्छन् । कतिपय अवस्थामा त चालक–सहचालकले बेवास्ता गर्ने गरेको अनुभव उनीसँग छ । कहिलेकाहीँ कलेज वा कार्यालय समयमै पुग्न नसकेर बाटोमै घण्टौं कुर्नुपरेको छ । मोटरसाइकल वा अन्य सवारीसँग लिफ्ट माग्दा समेत सहयोग नपाएको तितो अनुभव उनले पटक–पटक भोगेका छन् ।













