लाइसेन्स लिनेभन्दा विदेश जाने डाक्टर बढी, स्वास्थ्य प्रणालीमै खतराको घन्टी

3

२३ असार, काठमाडौं । नेपालमा उत्पादन भएका चिकित्सकलाई देशमै टिकाउन नसक्ने अवस्थामा राज्य पुगेको सरकारी तथ्यांकले उजागर गरेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकले चिकित्सक पलायन भयावह बन्दै गएको देखाएको हो । सन् २०२५ मा नेपालमा चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिने चिकित्सकभन्दा विदेश जान आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ क्यारेक्टर सर्टिफिकेट) लिने चिकित्सकको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।चिकित्सा शिक्षा अध्ययन पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलबाट प्रत्येक वर्ष करिब दुई हजार चिकित्सकले चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने गरेका छन् । तर गत वर्ष नेपालमै सेवा गर्ने उद्देश्यले लाइसेन्स लिनेभन्दा विदेश जाने तयारीमा काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिने रहेका चिकित्सकको संख्या उल्लेख्य देखिएको छ ।

यसले नेपालमा चिकित्सक उत्पादन बढे पनि उनीहरूलाई देशमै टिकाउन राज्य पूर्ण रूपमा असफल भएको देखाउँछ ।काउन्सिलका अनुसार सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकीय लाइसेन्स लिएका छन् । तर सोही अवधिमा विदेशमा अध्ययन वा रोजगारीका लागि आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र’ दुई हजार ६८१ जना चिकित्सकले लिएका छन् । अर्थात्, लाइसेन्स लिनेभन्दा विदेश जाने तयारी गरेका चिकित्सक ५५९ जना बढी छन् । चिकित्सा शिक्षामा वर्षेनी अर्बौं रुपैयाँ लगानी गरी दक्ष जनशक्ति उत्पादन भइरहे पनि उनीहरूलाई आकर्षित गर्ने सेवा–सुविधा, सुरक्षित कार्य वातावरण, वृत्ति विकासका अवसर र सम्मानजनक पारिश्रमिकको अभावका कारण चिकित्सकहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् ।