काठमाडौं : अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन। बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ। त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त हुने होइन ? सवारी चालकलाई डुबेको सडक छिचोल्नुपर्ने बाध्यता हुन्छ भने पैदलयात्री सुरक्षित पाइला टेक्ने बाटो खोज्दै भौँतारिनुपर्छ। गत बिहीबार साँझको व्यस्त समय थियो। सरकारी तथा विभिन्न निजी कार्यालयका कर्मचारीहरू दिनभरको काम सकेर घर फर्कने तयारीमा थिए। विद्यालय र कलेजका विद्यार्थीहरू पनि पुस्तकका झोला बोकेर आफ्ना गन्तव्यतर्फ लागिरहेका थिए। सडकमा सवारीसाधनको चाप बढ्दो थियो र राजधानी आफ्नो नियमित गतिमा चलिरहेको थियो। एक्कासी आकाशमा कालो बादल मडारिएर केही क्षणमै झमझम पानी पर्न थाल्यो। वर्षा त्यति धेरै थिएन तर त्यसको असर भने केही मिनेटमै देखियो। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकैको माइतीघर र अनामनगर क्षेत्र नै जलमग्न हुन थाल्यो। यीलगायत उपत्यका अन्य सडकसमेत जलमग्न बने। सडकमा गुडिरहेका सवारीसाधन पानीमै रोकिन थाले, यात्रुहरू अलपत्र परे र पैदल यात्रुहरू सुरक्षित बाटो खोज्दै भौँतारिन बाध्य भए। कतिपय कर्मचारी समयमै घर पुग्न सकेनन्। कतिपयले जोखिम मोलेर पानीमाथि मोटरसाइकल कुदाइरहेका थिए। विशेषगरी दुईपाङ्ग्रे सवारी चालकहरूका लागि डुबानले थप चुनौती सृजना गरिरहेको थियो। सडकको खाल्डाखुल्डी पानीमुनि लुकेका थिए, जसले दुर्घटनाको जोखिम अझ बढाएको थियो।
यो दृश्य बिहीबार साँझको मात्रै होइन, पछिल्ला वर्षहरूमा राजधानी बर्सेनि डुबानमा परेको छ। मनसुन समयमा भारी वर्षा नभए पनि सडक जलमग्न हुनु, सवारी आवागमन अवरुद्ध हुनु र जनजीवन प्रभावित हुनु उपत्यकावासीका लागि लगभग नियमित समस्याजस्तै बनेको छ। प्रश्न उठ्छ– भारी वर्षा नै नभएको अवस्थामा पनि किन डुबानमा पर्छ काठमाडौँ उपत्यका ? विशेषज्ञहरूका अनुसार अव्यवस्थित सहरीकरण, साँघुरा तथा अवरुद्ध ढल प्रणाली, नदी–खोलाको अतिक्रमण, सडक निर्माणका क्रममा पानी निकासलाई बेवास्ता गर्नु र बढ्दो कङ्क्रिट संरचनाले वर्षाको पानी जमिनमा सोसिन नपाउनु यसका मुख्य कारण हुन्। केही वर्षाअघि सहज रूपमा बग्ने पानी अहिले सडक र बस्तीमै थुनिन थालेको छ।














