सेतो स्नीकर्स अहिले धेरैको वार्डरोबको महत्वपूर्ण हिस्सा बनिसकेका छन् । यी जुत्ता जिन्स, ट्राउजर, ड्रेस तथा एथलिजर लुकसँग सजिलै मिल्छन् । तर वर्षा सुरु भएसँगै सेतो स्नीकर्स सफा राख्न केही चुनौतीपूर्ण हुन्छ । हिलो, फोहोर पानी र चिस्यानका कारण जुत्ता छिट्टै फोहोर देखिन थाल्छन् । यद्यपि, केही सजिला बानी अपनाउने हो भने वर्षायाममा पनि सेतो स्नीकर्सलाई लामो समयसम्म नयाँजस्तै राख्न सकिन्छ ।स्नीकर्समा हिलो लागेको छ भने त्यो सुक्ने समयसम्म पर्खनु हुँदैन । घर पुग्नेबित्तिकै नरम ब्रस वा सुख्खा कपडाले जुत्तामा लागेको फोहोर हटाउने त्यसपछि हल्का भिजेको कपडाले जुत्ता पुछ्ने । यसो गर्दा दाग गहिरो हुन पाउँदैन र जुत्ता सफा गर्न पनि सजिलो हुन्छ । यदि वर्षामा पनि सेतो स्नीकर्स नियमित लगाउने हो भने जुत्ताका लागि उपयुक्त वाटरप्रुफ स्प्रे प्रयोग गर्न सकिन्छ । यसले जुत्ताको सतहमा सुरक्षात्मक तह बनाउँछ, जसले पानी र सामान्य फोहोरलाई जुत्ताभित्र पस्नबाट केही हदसम्म रोक्न मद्दत गर्छ । स्प्रे प्रयोग गर्नुअघि भने जुत्ताको मटेरियलअनुसार निर्माता कम्पनीको निर्देशन हेर्नु राम्रो हुन्छ ।














