सञ्चार माध्यमसंग तथ्य, प्रमाण र नैतिकता हुनुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

2

काठमाडौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार माध्यमले प्रश्न उठाउदाँ तथ्य, प्रमाण र नैतिक आधारमा हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रतास् सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक राष्ट्रिय सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् । उनले समाचार, भ्रामक सूचना र नियतपूर्वक फैलाइने गलत सूचनाबीचको भिन्नता स्पष्ट रूपमा छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै सत्य, तथ्य र जिम्मेवारीमा आधारित पत्रकारितालाई अभल सुदृढ बनाउन सरकार र पत्रकार महासङ्घबीच समझदारी आवश्यक रहेको बताए ।

पत्रकारितालाई लोकतन्त्रको चौथो अङ्गका रूपमा उल्लेख गर्दै उनले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको बताए । साथै पत्रकारिता जगत्ले पनि आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । सरकारी विज्ञापनको दुरुपयोग भएको जानकारी प्राप्त भएपछि सरकारले आवश्यक कदम चालेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रका समस्या कुनै एक विषयमा सीमित नरहेको बताए । नेपाल पत्रकार महासङ्घलाई रचनात्मक सुझावसहित संवादमा आउन समेत उनले आग्रह गरेका छन् ।