कङ्गोमा इबोलाको सङ्क्रमण भयावह, हालसम्म ४९२ जना को मृत्यु

2

काठमाडौं । अफ्रिकी देश ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोला रोगले भयावह रुप लिएको छ । पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ ।
कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ । प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको सङ्केत गरेको अधिकारीले बताएका छन् ।