कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?

1

काठमाडौं ; संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरू संसदीय दलको नेता चयन गर्ने गृहकार्यमा जुटेका छन्। रास्वपाले भावी प्रधानमन्त्री बालेन्द्र शाह, नेकपाले संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई दलको नेता बनाउने तयारी छ। कांग्रेसमा युवालाई दलको नेता बनाउनुपर्ने आवाज उठिरहेको छ। एमालेले वरिष्ठतालाई प्राथमिकता दिने योजना बनाएको छ। राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाएको छ।

प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत रहेको रास्वपाले नयाँ सरकार गठन गर्दै छ। संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने व्यवस्था छ। १३ चैतमा नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी छ।
त्यसैले रास्वपाले त्यसअघि नै वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्नेछ। प्रतिनिधिसभा सदस्यहरूको शपथ भने १२ चैतमा हुँदै छ । रास्वपाको विधानमा पार्टी सदस्यसमेतको मतदानबाट संसदीय दलको नेता चयन गर्ने प्रावधान छ। यसलाई संशोधन गर्ने कि संक्रमणकालीन अवस्थाका रूपमा लिएर संशोधनबिनै संसदीय दलको नेता छान्ने भन्नेमा छलफल भइरहेको नेताहरूले जनाएका छन्। सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार भएको छलफलले निर्वाचित सांसदहरूको सहमतिमा दलको नेता चयन गर्ने समझदारी बनेको छ।

बालेन्द्र शाह र रास्वपाबीच गत १५ पुसमा भएको सहमतिमै प्रतिनिधिसभा निर्वाचनपछि शाह संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले संसदीय दलको नेता चयन छिट्टै हुने बताइन्। ‘संसदीय दलको नेता, मुख्य सचेतक र सचेतक चयनबारे शीर्ष तहमा छलफल भइसकेको छ, त्यसमा पनि दलको नेता छिटो चयन गर्नुपर्छ भन्नेछ,’ उनले भनिन्, ‘सांसदहरूको शपथलगत्तै दलको नेता चयन गर्ने भनिएको छ।’ रास्वपाले १२ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १ सय ८२ सिट जितेको छ। संसदीय दलको नेता चयन भएपछि रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नेछ।