१५ दिनभित्र माग पूरा नभए फेरी बन्द हुने छ बञ्चरेडाँडा !

10

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाबासीले फोहोर विसर्जन गर्न अवरोध गरेको चार दिनपछि उक्त अवरोध हटेको छ। अवरोध हटेपछि अहिले धमाधम फोहोर विसर्जन भइरहेको छ। तर,१५ दिनभित्रमा उनीहरूको माग सरकारले पूरा गर्न सकेन भने फेरी फोहोर विसर्जन बन्द हुने छ। किन भने आज(आइतबार) अनुगमनस्थलमा पुगेका शहरी विकास मन्त्री कुलमान घिसिङले नै प्रतिबद्धता पूरा नभएमा १५ दिनपछि बन्द गर्नू भनेका छन्। ‘१५ दिनभित्रमा सरकारले माग पूरा गर्छ,अहिलेलाई फोहोर विसर्जन हुन दिनु,’शहरी विकास मन्त्री घिसिङको स्थानीयलाई दिएको कुरा उद्धृत गर्दै नुवाकोटको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले थाहाखबरलाई भने,‘यदि १५ दिनभित्रमा प्रतिबद्धता पूरा नभए फेरी बन्द गर्नु।’उक्त प्रतिबद्धतापछि मात्रै स्थानीय फोहोर फाल्न दिन तयार भएको वडाअध्यक्ष बजगाँईले जानकारी दिए। उनका अनुसार मन्त्री घिसिङसहितको टोलीले स्थलगत अनुगमन गरेपछि त्यहाँका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूबीच छलफल भयो। उक्त छलफलमा १५ दिनभित्र गर्न सकिने कामका सूची सहरी विकास मन्त्रालयमा छलफल गरेर टुंगो लगाउने कुरा भएकाे छ।