नुवाकोट : काठमाडौं उपत्यकाको फोहोर दैनिक विसर्जन गरिँदै आएको नुवाकोटको ओखर पौवास्थित बन्चरे डाँडामा फेरी फोहोर फाल्न रोकिएको छ। पहिलेको माग पूरा नगरेको जनाउँदै स्थानीयवासीले बुधवार देखि फोहोर विसर्जन गर्न रोक लगाएका हुन्।बन्चरे डाँडामा ल्यान्डफिल साइटका प्रभावित स्थानीयले पहिलेको मागहरू सम्बन्धित पक्षले पुरा नगरेको जनाउँदै फोहोर बोकेर आएका ट्रकहरू रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। फोहोर बोकेर आएका ५० थान बढी ट्रकहरू फोहोर विसर्जन गर्न नपाएपछि फर्किएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए। गत २०७९ साल जेठ २ गते काठमाडौ उपत्यकाको फोहोर दैनिक विसर्जन गरिँदै आएको सिसडोल बन्चरे डाँडा, कुडुले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा सहजताका लागि काठमाडौ महानगरपालिका र स्थानीयवासी भएको १८ बुँदे सहमति कार्यान्वयन नगरिएको जनाउँदै स्थानीयवासीले फोहोर फाल्न रोक लगाएका हुन्।
उक्त समयमा स्थानीयवासी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन, उपमेयर सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका १ का वडाध्यक्ष पदमबहादुर बलामी, २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनीवेसी नपा १ का वडाध्यक्ष मानवहादुर तामाङ, ३ का वडाध्यक्ष प्रकाश हमाल, स्थानीयवासी तथा सरोकारवालाबिच बन्चरे डाँडा वरपरको घर टहरा क्षतिपूर्ति तीन महिनाभित्र निर्णय गर्ने, तीनपिप्लेदेखि बन्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने, फोहोर विसर्जन स्थल र फोहोर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्नेलगायत १८ बुँदे माग पुरा नगरेको जनाउँदै स्थानीयवासीले पुनः आन्दोलन थालेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकाका लागि रोकिएको हो।बन्चरे डाँडा ल्याण्डफिल साइटमा काठमाडौँ, ललितपुर, भक्तपुरका साथै काभ्रेको फोहोरसमेत विसर्जन हुने गरेको प्रहरीले जनाएको छ। दैनिक रूपमा दुई सय ५० देखि तीन सय ट्रक फोहोर फालिँदै आएको छ।फोहोर बोकेका ट्रक रोक्ने क्रममा सर्वसाधारणसँग ओखर पौवाको बन्चरे डाँडामा बुधवार प्लेकार्ड वाकेर विद्यार्थीसमेत सहभागी रहेको थिए। फोहोरले अध्ययनमा बाधा पारेको र तत्काल वैज्ञानिक रूपमा व्यवस्थापन गरिनु पर्ने उनीहरूको माग रहेको छ। स्थानीयवासी पहिले भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै स्थानीयहरूले फोहोर विसर्जनका गाडीहरू साइटमै प्रवेश गर्न नदिई फर्काइदिएको डिएसपी लामाले जानकारी दिए।












