कार्यालय बन्द गरेर वडाध्यक्षले गाउँपालिकालाई बुझाए साँचो

8

काठमाडौँ : रोल्पाको थबाङ- २ का अध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गरेर गाउँपालिकालाई साँचो बुझाएका छन्। विकास निर्माणका काममा गाउँपालिका उदासीन बनेको भन्दै मगरले कार्यालयको साँचो बुझाएका हुन्। उनले आफ्ना माग पूरा नभए राजीनामा चेतावनी उनले दिएका छन्। ‘गाउँपालिकाअन्तर्गत पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा निरन्तर ढिलासुस्ती हुनुलगायत विकास निर्माणका कार्यमा गाउँपालिका अध्यक्ष र कार्यालयले कुनै चासो नदेखाएका कारण यस्तो कदम चालेको हुँ’, उनले भने। थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बूढा मगरले कामको सिलसिलामा आफू बाहिर रहेकाले घटनाबारे कुनै जानकारी नभएको थाहाखबरलाई बताए। वडाध्यक्ष स्वयं पनि गाउँपालिकाकै जिम्मेवार एक पक्ष भएकाले विकास निर्माणको सवालमा आफूलाई मात्र आरोप लगाएर पन्छिन नपाउने उनले बताए। पालिका फर्किएर बिहीबार नै थप कुराकानी गर्ने उनको भनाइ छ।