भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरवासीका लागि निस्शुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो। प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य र रेडक्रस भक्तपुरको तर्फबाट सभापती परशुराम पाण्डेबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नगर क्षेत्रका नागरिकलाई आवश्यक परेको रगत तथा रक्ततत्व निशुल्क रूपमा उपलब्ध गराइनेछ, जसको खर्च नगरपालिकाले व्यहोर्नेछ।
नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिंदै नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने कार्य गरिरहेको छ । उहाँकै पहलमा निशुल्क रगत वितरण कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक रूपमा कमजोर नागरिकहरूले सहज रूपमा निशुल्क रगत प्राप्त गर्ने सुविधा पाएका छन् । दुई वर्ष अघि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुरसँगको सहकार्यमा नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । सो कार्यलाई निरन्तरता दिदैं चालु आर्थिक वर्षका लागि पनि सम्झौता नवीकरण गरिएको हो । यो कार्य मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सुरु गरेका हुन् । 













