भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने गृहणी महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिप प्रदान गरेको छ । बागमती प्रदेश सरकार र नगरपालिकाको साझेदारी सम्पन्न गृहणी महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तरर्गत झोल साबुन, सरफ बनाउने तालिम ७ दिन, सिस्नोको पापड बनाउने तालिम १५ दिन र सिलाई कटाई एक महिनासम्म प्रशिक्षण दिएको नगरपालिकाको लैङ्गिक विकाश तथा सामाजिक समावेशीकरण शाखाको प्रमुख विजया लक्ष्मी सुवेदी जानकारी दिइन् ।
आधारभूत व्युटिसियन तालिम समेत गरेर १ सय ८५ जना महिलाहरुले विभिन्न सिप मुलक तालिम लिएको सुवेदीको भनाई छ । त्यसैगरि आमाबाबु विहिन बालकालिका संरक्षण कार्यक्रम अन्तर्गत नगरपालिकाले आमाबाबु गुमाएका १८ वर्ष मुनिका ४ जना बालबालिकाहरुलाई प्रतिव्यक्ति २४ हजारका दरले नगद वितरण गरेको छ । अपाङ्गता भएका तीन जना व्यक्तिहरुलाई ल्यापटप र विश्वनाथ बस्नेतलाई ५० प्रतिशत अनुदानमा स्कुटर हस्तान्तरण गरिएको शाखा प्रमुख सुवेदीले बताइन् ।
विहिबार यस कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख बासुदेव थापाले नगरभित्र भौतिक विकाश लगभग सकिएकाले अब मानविय विकाश तर्फ लागेको बताए । थापाले भने ‘बाटोघाटा,े कुलकुलेसा, स्कुल र स्वास्थ्यचौकी बनाउने काम सकिएको छ, अब हामी मानविय विकाशका काम गर्दर्छौ ।’ ८ वर्षभित्र नगर संचालनका धेरै ऐन कानुन बनेका र विकाशका पूर्वाधारपनि निर्माण भईसेकाले अबको एक वर्ष ९ महिना सिप मुलक रोजगारि मुलक कार्यक्रम गर्न जनप्रतिनिधिहरु लागेको उनको भनाई छ ।
उपप्रमुख सरिता तिमसिना भट्टराईले गृहणी महिलालाई सिप मार्फत सशक्तिकरण गर्दै आयआर्जनमा जोड्ने तर्फ नगरपालिका लागिरहेको बताइन् । सिकेको सिपलाई व्यवहारमा पनि लागू गरेर आर्थिक उपार्जनमा सक्रिय हुन् उपप्रमुखले सबैलाई आग्रह गरेकी छिन् ।
नगरपालिकाका सामाजिक विकाश समितिका संयोजक रविन्द्र सापकोटाले एक्लै व्यवसाय गर्न समस्या भएर मिलेर काम गर्दै सिकेको सिपको भरपूर उपयोग गर्न आग्रह गरे । यदि तपाईहरुले व्यवसाय सुरु गर्न चाहानुहुन्छ भने नगरपालिकाले पूर्णसाथ र सहयोग गर्ने र माथिल्लो तहको तालिम समेत दिलाउने छ, सापकोटाले सो अवसरमा प्रतिवद्धता गरे ।














