नेपालकै पैसा र ज्ञानः पोखरामा हवाई इन्धन डिपो निर्माण

37

हेमराज ढकाल
काठमाडौं । नेपाल आयाल निगमले पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट हवाई इनधन डिपो निर्माण कार्य सम्पन्न गरेको छ । आफ्नो ५५ वर्षे इतिहासमा निगमले पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट यो परियोजना सम्पन्न गरेको परियोजनाका प्रमुख ई.प्रदीप यादवले जानकारी दिएका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २ सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह निर्माण गरिएको परियोजना प्रमुख यादवले भने ।

डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको ‘फायर फाइटिङ’ संरचनालाई आबद्ध गरिएकाले उच्च सुरक्षा प्रदान गर्ने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताए । हवाई इन्धन जस्तो प्रज्वलनशील पदार्थको नियमित रूपमा कारोबार हुँदा आगलागीको जोखिम हुनसक्ने विषयलाई मध्यनजर गर्दै चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक इन्धनका लागि आयल निगमले विमानस्थल परिसरमा नौ हजार २१५ वर्गमिटर क्षेत्रफल जग्गा नागरिक उड्डयन प्राधिकरणसँग ‘लिज’ सम्झौता गरी निगमले उपयोग गर्दै आएको हो । यस परियोजनाको संशोधित लागत अनुमान ७९ करोड रुपैयाँ (भ्याट बाहेक) रहेको छ । २०७७ चैतमा बोलपत्र आह्वान गरिएकोमा विभिन्न प्रक्रिया पूरा गर्दै २०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा निर्माण कार्यको शिलान्यास गरिएको थियो ।यो डिपो सञ्चालनमा आएसँगै पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक इन्धन सहज र निरन्तर रूपमा उपलब्ध हुने विश्वास लिइएको छ ।