कृषि सुधारका लागि साढे ९ अर्ब विदेशी ऋण लिँदै सरकार

12

काठमाडौँ : सरकारले कृषि विकासका लागि अन्ताराष्ट्रिय कोषबाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। शुक्रवारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।उक्त रकम ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अनुमति दिएको छ। यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायताका सरकारले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

अन्य निर्णय यसप्रकार छन्-
सरकारले जर्मनीको बर्लिनमा आयोजना हुने वर्ल्ड हेल्थ समिट २०८१ को असोज २९ देखि कार्तिक १ गतेसम्म इटालीको रोममा आयोजना हुने ह्याण्ड इन ह्याण्ड एचआईएस इन्भेष्टमेण्ट फोरममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई २०८१ असोज ८ देखि ११ सम्म चीनको बेइजिङमा आयोजना हुने फिप्थ प्लेजनरी मिटिङ अफ दि ग्लोबल अप्रेशनल नेटवर्क अफ एनटी करप्शन ल इन्फर्समेन्ट अथोरिटिज नेटवर्कमा सहभागी हुन स्वीकृति दिएको छ। त्यस्तै सरकारले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयन कार्यालय लगायतका आयोजनामा आर्थिक वर्ष २०८१।०८२ को लागि २१० अस्थायी दरबन्दी स्वीकृत गरेको छ। काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.३ क्षेत्रफल ५–१४–०–० रोपनी सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ। हुलाकी राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।​ गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडकको स्याफ्रुवेसी बजार खण्डमा ११ मिटर चौडाइमा सडक निर्माण गर्न स्वीकृति दिएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनासमेतका आयोजना/योजनामा ३५१ राजपत्राङ्कित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए।