बीबीसी । नेपाल राष्ट्र ब्याङ्कले यसपालि दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्ने बताएपछि त्यसबारे विभिन्न तर्कवितर्क सुरु भएको छ । राष्ट्र ब्याङ्कका सहायक सूचना अधिकारी डा.भागवत आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा सुकिला नोट उपलब्ध गराउने निर्णय भएको छ। केन्द्रीय ब्याङ्कको निर्णयप्रति खास गरी सामाजिक सञ्जालमा कतिपयले असन्तुष्टि जनाएका छन् । भने कतिपयले सकारात्मक कदम भनेका छन् । तर एक भूतपूर्व गभर्नरले राष्ट्र ब्याङ्कको पछिल्लो निर्णय “अग्रगामी” भएको बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।
नयाँको सट्टा सुकिला किन?
विगतमा केन्द्रीय ब्याङ्कले प्रमुख चाडबाडका बेला सर्वसाधारणलाई अर्बौँ रुपैयाँबराबरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो। राष्ट्र ब्याङ्कस्थित अधिकारीहरूले विगतदेखि चल्दै आएको अभ्यासमा परिमार्जन गरिएको बताएका छन् । आचार्यका अनुसार आसन्न दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्नुका पछाडि मुख्यतया दुइटा कारण रहेका छन् ।
१. डिजिटल भुक्तानीलाई प्रोत्साहन
केही वर्षयता सरकारले डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै लैजाने बताउँदै आएको छ। सरकारका नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा पनि त्यसमा जोड दिइँदै आएको छ। “डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पनि यो निर्णय लिइएको हो,” नयाँ नोट नदिने एउटा कारणबारे सहायक सूचना अधिकारी आचार्यले बीबीसी न्यूज नेपालीसँग भने। “नेपालमा अहिले सानातिना नोटहरू कारोबारमा प्रयोग नभएर केवल फिर्ता दिनका लागि प्रयोग हुन थालेको भन्ने एउटा सर्वेक्षणको निष्कर्षका आधारमा पनि हामीले यसपालि नयाँ नोट नदिने निर्णय गरेको अवस्था हो,” उनले अगाडि थपे।
सुकिलो भनेको कस्तो?
छापिएर आएको तर बजारमा नगएको नोटलाई राष्ट्र ब्याङ्कले नयाँ नोट भन्ने गर्छ।
तर सुकिला नोट भनेको बजारमा गएर प्रयोगमा पनि आइसकेको हुन्छ। चलनचल्तीमा आइसकेका तर प्रयोगयोग्य नोटहरूलाई चाहिँ सुकिला नोट भन्ने गरिएको छ । प्रयोग गर्न योग्य नरहेपछि त्यस्ता नोटलाई सङ्कलन गरी राष्ट्र ब्याङ्कले जलाएर नष्ट गर्ने गरेको छ। अधिकारीहरूका अनुसार राष्ट्र ब्याङ्कले काम नलाग्ने अर्बौँ रुपैयाँबराबरका नोटहरू बर्सेनि प्रचलनबाट खिच्ने गरेको छ। उनीहरूका अनुसार नेपाली नोटहरूको आयु सामान्यतया दुईथरीको हुन्छ। पाँच सय र एक हजार रुपैयाँका दरको नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुन्छ।
सुकिला नोट कति पाइने छ?
मुख्य चाडबाडका बेला आवश्यक पर्नेभन्दा बढी नै सुकिला नोट कोषहरूमा रहेको अधिकारीहरूले बताएका छन् । नेपाल राष्ट्र ब्याङ्क, नेपाल ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क गरी देशभरि ८० भन्दा बढी नोटकोषहरू रहेका छन् । “ती सबैको गर्दा दशैँ, तिहारमा हामीलाई जति नोट चाहिने हो त्योभन्दा बढी नोट छ,” आचार्यले भने। सुकिला नोट लिनका लागि कुनै सीमा र समय नतोकिएको पनि उनले बताए। “विगतमा नोट लिनका लागि भनेर समय तोकिन्थ्यो। तर सुकिला नोट आफूलाई चाहिएको बेला लिन सकिने छ।”