जलवायु परिवर्तनविरुद्धको सार्क सम्मेलन सुरु

33

काठमाडौँ । विश्वव्यापी समस्याका रुपमा बढ्दै गएको जलवायु परिवर्तनका विषयमा दक्षिण एसियाको पहिलो सम्मेलन काठमाडौँमा सुरु भएको छ । बढ्दो तापक्रमले नेपालसहित दक्षिण एसियाका विभिन्न क्षेत्रमा परेको असर न्युनिकरण गर्ने विषयमा सम्बन्धित सरोकारवाला र यस क्षेत्रमा काम गर्ने अभियान्ता तथा नेतृत्वहरुको पहिलो सम्मेलन काठमाडौँमा मंगलबारदेखि सुरु भएको हो ।

होटल र्‍याडिसनमा आयोजना गरिएको कार्यक्रम मंगलबार र बुधबार चल्नेछ । कार्यक्रमको प्रमुख अतिथी वनमन्त्री प्रदीप यादव छन् ।जलवायु परिवर्तनको समस्यालाई न्युनिकरण गर्न अमेरिकी सरकारको सहयोगमा ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ परियोजनाको पहिलो सम्मेलन काठमाडौँमा आयोजना गरिएको आयोजक आइएसएसआरका परियोजना संयोजक तथा पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालसहित दक्षिण एसियाका भारत, भुटान, बंगलादेश र श्रीलंकामा पनि सञ्चालित यो परियोजनाका मुख्य नेतृत्व, अभियान्ता र सरोकारवाला गरेर १२० जना होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा दक्षिण एसियाका नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका २०/२० जना गरि १०० जना युवा नेतृत्व छन् । यस्तै कार्यक्रम आयोजक, प्रायोजकसहित आयोजक संस्थाका २० जना गरि जम्मा १२० जना कार्यक्रममा सहभागी भएका हुन् ।