काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–१ का गोविन्द बुढा गत शुक्रबार बिहान ६ बजे घर जान नेपालगन्जबाट गाडी चढे । नेपालगन्जबाट जाजरकोट सदरमुकाम पुग्दासम्म उनको यात्रा सजिलै भयो । तर जाजरकोटको तातरगाडमा पुल नहुँदा उनले अर्को गाडी फेर्नुपर्यो । त्यहाँबाट जाजरकोटको चौखासम्म अर्को गाडी चढेर बास बसे ।
शनिबार बिहान रुकुम पश्चिमको मूलतरा, डोल्पाको छलगाड र चुगाडखोलामा थप ३ गाडी फेरेपछि मात्र उनी अपराह्न ४ बजे सदरमुकाम दुनै पुग्न सके । ‘पाँचवटा गाडी फेरेपछि मात्र यहाँ पुग्न सकियो, बीचबीचमा गाडी बिग्रिएका बिग्रियै, त्यसमा पनि कच्ची बाटो भएकाले भगवान् भरोसामा यात्रा गरियो,’ उनले भने, ‘बीचबीचमा गाडीबाट झरेर सामान पल्टी गर्नुपर्ने । जसले सास्तीसँगै जोखिम पनि निम्त्याएको छ ।’ उनले नेपालगन्जबाट डोल्पा पुग्दासम्म कम्तीमा ५ हजार रुपैयाँ खर्च हुने बताए ।
भीरैभीरमा बनाइएको सडक चौडा नहुँदा यात्रा जोखिमपूर्ण र कष्टकर बनेको ठूलीभेरी–३ का परमल बुढाले बताए । ‘हिउँदमा पनि कठिन भूगोलमा बनाएको सडकमा कतिबेला दुर्घटना हुने हो भन्ने डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता छ, झन् बर्खामा बढेका खोला र बाढीपहिरोसँग पौठेजोरी खेल्दै भगवान् भरोसामा यात्रा गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा पनि ठाउँठाउँमा गाडी फेर्नुपर्ने सास्ती उस्तै, झन् व्यवसायीले मनोमानी भाडा असुल्दा हामी ठूलो मारमा छौं ।’
जाजरकोट–डोल्पा सडकअन्तर्गतको १ सय १७ किलोमिटर खण्डमा अझै पनि झन्डै १० वटा पुल बनाउन आवश्यक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार अहिले तल्लु, रुपागाड, त्रिपुराकोट, करागाड र खदाङमा मात्र बेलिब्रिज छन् । ‘पुलकै अभावमा ४र५ ठाउॅमा सामान पल्टी गर्नुपर्ने बाध्यता छ । ढुवानी भाडा नेपालगन्जबाट प्रतिकिलो १० रुपैयाँ तोकिए पनि व्यवसायीले पल्टी गर्ने हुँदा त्यसभन्दा बढी लिने गरेको पाइएको छ,’ उनले भने, ‘जसका कारण डोल्पामा विकास निर्माणको काम र स्थानीयको भान्सा महँगो भएको छ ।’ उनले यात्रु र ढुवानी भाडामा नियमन गर्न थालिएको बताए ।
डोल्पामा हवाई सेवा पनि नियमित छैन, जसका कारण बिरामीलाई बाहिर पठाउन ठूलो समस्या हुने गरेको जिल्ला अस्पतालकी स्वास्थ्यकर्मी सरिता शर्माले बताइन् । ‘सबै बिरामीलाई यहाँ उपचार गर्न सम्भव छैन, यस्तो अवस्थामा रिफर गर्दा पनि बिरामीको बाटैमा ज्यान जाने जोखिम छ,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो जटिल बिरामी आएका छैनन् ।’
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।