Sunday, September 20, 2026
Home समाचार डेङ्गुबाट कसरी बच्ने ? यस्तो छ उपाय

डेङ्गुबाट कसरी बच्ने ? यस्तो छ उपाय

69

काठमाडौं । नेपालमा बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गु सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।

अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ।

यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ।

यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन।

यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ।

डेङ्गुबाट सावधानी कसर अपनाउने

घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्छ।

बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ।

घर भित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ।

औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नु पर्दछ ।

डेङ्गुको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ।

यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको रोकथाम नै हो। लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।

लामखुट्टेसँगै यसको प्रजनन गर्ने कार्य रोक्नुपर्छ। कसैको दिउँसो सुत्ने बानी भए पनि झुल प्रयोग गर्नुपर्छ। घरका झ्यालढोकामा जाली राख्नुपर्छ।

डेङ्गु भएको कसरी थाहा पाउनेर ?

डेङ्गु हुँदा एक्कासी चर्को ज्वरो आउँछ। ज्वरो भाइरसको कारण आउँछ।

जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्‍ने हुन्छ।

कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत बग्ने हुन्छ ।
बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि आन्तरिक र बाह्य रक्तश्राव हुन्छ।

जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर एक प्रतिशत बिरामीको ज्यान जान्छ।

सामान्य अवस्थाका बिरामीहरू अधिकांश बिस्तारै डेङ्गी ज्वरोबाट आफै निको पनि हुन सक्छन्।

डेङ्गी भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खानु पर्छ।