ढोरपाटन : एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए। ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे। मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो। अचेल ती घाटमाथि संरचना बन्न थालेका छन्। कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन्। पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ। बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो छ। घाटमा अवैधरुपमा संरचना निर्माण गर्नुका साथै ढुङ्गा, गिटी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको हो। निसीखोला गाउँपालिका–१ का नितेश पुनमगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदीको आकार पनि सानो हुँदै गएको बताए। नदी किनारदेखि पर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उनको भनाइ छ। मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुनमगरले बताए। घाट पवित्रस्थान भएको हुँदा संरक्षण गर्नुपर्ने उनको भनाइ छ। कतिपय घाटमा बस्तीसमेत बसालेको उनले बताए।
“मान्छेहरुलाई कति लोभ लागेको हो रु, मसानघाटसमते अतिक्रमण गरेर आफ्नो बनाउँछन्, सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नी, पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो, अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ”, पुनमगरले भने, “गाउँपालिकाले एक÷दुई ठाउँमा राम्रो मसान घाट त बनाएको छ, तर पहिलेका ठाउँ फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन।”निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेतमा परिणत भएका छन्। कतै विकासका नाम पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धीरबहादुर क्षेत्रीले बताए।
घाट साझा थलो भएको हुँदा व्यक्तिगतरुपमा प्रयोग गर्न नहुने उनको भनाइ छ। पछिल्लो समय खोलामा डोजर हालेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दा खेती मसानघाट पुरिने गरेको क्षेत्रीले बताउँछन्। घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घण्टौँ लगाएर घाट खोज्नु पर्ने अवस्था आएको उनको भनाइ छ।
क्षेत्रीले भने, “हामी सानोसानो हुँदा निसीखोलामा थुप्रै घाट थिए,आधा घण्टाको दूरीमा घाटहरु हुन्थे, वारिपारीका गाउँबाट दाहसंस्कार गर्न झर्दा मलामी बस्ने ठाउँ खुला हुन्थ्यो, लास ९शव० लाई जलाउने ठाउँ पनि फराकिलो नै हुन्थ्यो, अहिले त एउटा शव राख्ने ठाउँसमेत भेटिदैन, मलामीले विश्रम गर्ने ठाउँ त टाढाको कुरा हो, पहिले मलामी बस्ने ठाउँमा अहिले धान गहुँ फल्ने खेतबारी बनेका छन्।”
निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण भएको बताए। अतिक्रमित घाटलाई फिर्ता गर्ने उनको भनाइ छ। घाट अतिक्रमण हुनुका साथै बाढीलेसमेत बगाउँदा धेरै ठाउँमा समस्या देखिएको उपाध्यक्ष घर्तीमगरले बताए। गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको भन्दै अन्य ठाउँमा पनि बनाउने उनको भनाइ छ। केही घाट व्यक्तिका नाममा रहेको हुँदा उनीहरुसँग छलफल गरी घाटकैरुपमा राख्ने घर्तीमगर बताउँछन्।