सबै क्रसर उद्योगमा ताला

65

गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो ।

गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार सोमबार जिल्लाका सबै क्रसर उद्योगमा ताला लगाइएको प्रमु्ख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

पर्यटन तथा उद्योग कार्यालय गोरखाका अनुसार हालसम्म जिल्लामा तीन वटा क्रसर उद्योग दर्ता छन् । गोरखा नगरपालिकामा रहेको गोरखकाली क्रसर उद्योग, पालुङटार नगरपालिकामा रहेको सिम्रन क्रसर उद्योग र माई मनकामना क्रसर उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । तर कार्यालयका अनुसार यी तीनै क्रसर सम्बन्धित ठेगानामा संचालन भएका छैनन् । विगत केही वर्षदेखि नवीकरणसमेत नभएको कार्यालय प्रमुख सुर्य भुजेलले बताए ।

साविकको देउराली गाविस-८ मा संचालित हुनुपर्ने गोरखकाली क्रसर छेवेटारमा छ । २०६५ साल कात्तिक ७ गते दर्ता भएको उक्त क्रसर २०७४ साल पुस ५ गतेदेखि नवीकरण भएको छैन । तर पनि धमाधम संचालन भइरहेको छ । यस उद्योगका संचालक सुरेन्द्र कुवँर हुन् । उनी कांग्रेस निकट मानिन्छन् ।