Sunday, September 27, 2026
Home समाचार कांग्रेसका प्रदेश सांसदले दिए डीएसपीलाई ज्यान मार्ने धम्की

कांग्रेसका प्रदेश सांसदले दिए डीएसपीलाई ज्यान मार्ने धम्की

126

काठमाडौं । ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् । बिहीबार राति ताप्लेजुङमा मिनी मेला सकिएपछि प्रहरी र हाङगामका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि हाङगामका कार्यकर्ता प्रहरीमाथि जाइलागेको थियो ।

विवादपछि बिहीबार राति करिब साढे १० बजे प्रहरी टोली सांसद हाङगामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा पुगेको थियो । जसको भिडियो सांसद हाङगामको सचिवालयले सामाजिक सञ्जालमा राखेको छ । प्रहरी टोलीले घरको गेटमा लात्तीले हानेको भिडियोमा देखिन्छ । ‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले डीएसपी राजन लिम्बूलाई धम्की दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हाङगामले भनेका छन्, ‘सक्छस् भने यहीँ आइज, म लुगा खोल्न तयार छु, खेल्न सक्छस् भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाई म तीन सेकेण्ड पनि राख्दिन बाँकी ।’ राजनीति उखरमाउलो किसिमले तातिएको बेला आफूहरु मान्छे मार्न पनि नडराउने उनको धम्की थियो । प्रदेश सांसद हाङगामले अनलाइनखबरसँग भने, ‘प्रहरीले राति आएर मेरो घरमा हुलहुज्जत गरेको, मार्छु भनेकोमा आँखा परेन तपाईहरुको रु मेरो घरमा मलाई मार्नका लागि आउँछन् भने मृत्यु स्वीकार गर्दिन, एक मुठी सास भएसम्म लड्छु ।’
कांग्रेस सांसद हाङगाम गत वर्ष मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १९१० बाट कोशी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुन् । -onlinekhabar