काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधानमा रहेका तीन वटा विषयमा असहमति जनाएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता भण्डारीले संविधानमा उल्लेख भएको धर्मनिरपेक्ष, संघीयता र निर्वाचन प्रणालीबारे असन्तुष्टि जनाएका हुन्। ‘संविधानमा तीन वटा कुरामा असहमति छ। एउटा सनातनदेखिको हाम्रो धर्म संस्कार र संस्कृतिको विरूद्धमा योजनाबद्ध ढंगले नेपालको संविधानमा धर्मनिरपेक्ष शब्द हटाउनुपर्छ। दोस्रो संघीय संरचनामा धेरै ठूलो असन्तुष्टि देखियो। आर्थिक, सामाजिक र सुरक्षाको दृष्टिकोणले असुरक्षित देखियो। संघीयताको बारेमा नयाँ अर्को विकल्प खोज्नुपर्छ। तेस्रो, निर्वाचन प्रणालीका बारेमा पुनर्विचार गरौं। जुन प्रणालीले बहुमत आउन नसक्ने र विकृतिहरू ल्याएको छ,’ उनले भने। त्यस्तै नेता भण्डारीले नेपाली कांग्रेसका नेताहरू कम्युनिष्टले प्रयोग गर्ने शब्द प्रयोग गर्न थालेको बताए। उनले कांग्रेसका नेताहरूले गर्वका साथ कम्युनिष्टले प्रयोग गर्ने शब्द क्रान्तिकारी ढंगले समाजवादउन्मुख अर्थनीति भन्ने गरेकाले आफूले यो विषय नबुझेको बताए।